दफा २४
कार्यालयको काम, कर्तव्य र अधिकार
कार्यालयको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क) तथ्याङ्क सम्बन्धी नीति, योजना तथा रणनीतिको मस्यौदा तयार गरी परिषद्‌ समक्ष पेश गर्ने,
(ख) राष्ट्रिय तथ्याङ्क प्रणालीको समुचित विकास, व्यवस्थापन, प्रवर्द्धन तथा सोको लागि अन्तरनिकाय समन्वय गर्ने,
(ग) कार्यालयले सङ्कलन, गर्नु पर्ने तथ्याङ्कका लागि गणना, सर्वेक्षण लगायतका अन्य क्षेत्रगत तथ्याङ्क सम्बन्धी कार्यसञ्चालन कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने,
(घ) योजना तर्जुमा तथा नीति निर्धारणका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आवश्यक तथ्याङ्क उपलव्ध गराउने,
(ङ) (तथ्याङ्कको स्तर निर्धारण तथा प्रमाणीकरण सम्बन्धी कार्य गर्ने,
(च) तथ्याङ्क सम्बन्धी अभिलेखको सुरक्षा गर्ने,
(छ) तथ्याङ्क सम्बन्धी विवरण प्रकाशन तथा वितरणको व्यवस्था गर्ने,
(ज) केन्द्रीय तथ्याङ्क (डाटा) बैङ्कको रूपमा कार्य गर्ने,
(झ) प्रदेश र स्थानीय तहले सङ्कलन गरेको तथ्याङ्क प्राप्त गरी राष्ट्रिय तथ्याङ्क प्रणालीमा आबद्ध गर्ने,
(ज) प्रदेश र स्थानीय तहको तथ्याङ्क प्रणालीको विकासमा सहयोग गर्ने,
(ट) प्रचलित कानून बमोजिम तथ्याङ्क सङ्कलन सम्बन्धी काम गर्ने निकायको तथ्याङ्क सम्बन्धी क्षमता अभिवृद्धिमा सहयोग गर्ने,
(ठ) यस ऐन बमोजिम हुने तथ्याङ्क सङ्कलनसँग सम्बन्धित विषयको परीक्षण, अनुगमन, निरीक्षण तथा सुपरिवेक्षण गर्ने,
(ड) तथ्याङ्क सम्बन्धी अध्ययन, अनुसन्धान तथा प्रशिक्षण सम्बन्धी काम गर्ने, र
(ढ) नेपाल सरकार वा आयोगले माग गरेको तथ्याङ्क सम्बन्धी विवरण वा सूचना उपलब्ध गराउने ।